टाटा मोटर्सको ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ सम्पन्न, टेस्ट ड्राइभमा १० हजार ७२ जना सहभागिता
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।
अभियानमा आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्सले टियागो, जेस्ट र बोल्ट कारहरूलाई देशका विभिन्न विद्यालयमा टेस्ट ड्राइभको लागि राखेको थियो भने कम्पनीले हरेक टेस्ट ड्राइभबापत विद्यालयलाई ५ सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सो सहयोग रकम विद्यालयहरूले आवश्यक परेका बालबालिकाको शिक्षाका लागि प्रयोग गर्नेछन् ।
समापन कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिलाई चेक हस्तान्तरण गरेका थिए । विद्यालयले सो रकमलाई छात्रवृत्ति कोष खडा गरी विपन्न तथा जेहेनदार विद्यार्थीहरूको शिक्षाका लागि प्रयोग गर्ने योजनासमेत बनाइसकेको कुरा जानकारी गराए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्वएवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने बताए । १० सेप्टेम्बर २०१६ बाट धापाखेल र सानेपास्थित जेम्स स्कुलबाट सुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रका ११ वटा सहरअन्तर्गत २४ वटा विद्यालयमा गरिएको थियो । अभियान सुरु भएको ५ महिनाको अवधिमा जम्मा १० हजार ७२ जनाले टेस्ट ड्राइभमा सहभागिता जनाएको कुरा आयोजकले जानकारी गराएका छन् ।
प्रतिक्रिया