
भारतको अग्रणी पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेन्डेनक्लब’ का सहसंस्थापक दिपेश कार्कीले आफ्ना अनुभव साटेका छन्। उनले कम्पेक्स छात्रवृत्तिको भूमिका, भारतमा बिताएका दिन र त्यसले आफ्नो व्यावसायिक यात्रालाई कसरी मार्गदर्शन गर्यो भन्नेबारे शुक्रबार कुराकानी गरे।
कार्की खोटाङको दुर्गम गाउँ हौचुरका शिक्षक परिवारमा जन्मिएका हुन्। उनको बाल्यकाल विराटनगरमा बिते पनि उनमा ग्रामीण जीवन र पारिवारिक मूल्य मान्यताको गहिरो प्रभाव रह्यो। उनका आमाबुबाले शिक्षकको कमाइले मात्र नपुगेर खेतीपाती गरेर दुई दाजुभाइको शिक्षाका लागि सङ्घर्ष गरे।
सानैदेखि यन्त्र र प्रविधिमा चासो राख्ने कार्कीको पाइलट वा एयरोनोटिकल इन्जिनियर बन्ने सपना थियो। तर, पारिवारिक आर्थिक अवस्थाका कारण त्यो सम्भव थिएन। सन् २००७-०८ मा कम्पेक्स छात्रवृत्ति पाएर भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्ने मौका पाएपछि उनको जीवनले नयाँ मोड लियो।
स्नातक पूरा गरेपछि उनले सुरुमा ‘पाइपआईएसओ’ नामक इन्जिनियरिङ सफ्टवेयर कम्पनी स्थापना गरे। पछि मुम्बईमा साझेदार भाभिन पटेलसँग मिलेर ‘लेन्डेनक्लब’ सुरु गरे। यो कम्पनी अहिले ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिने विश्वकै ठूला पियर-टु-पियर लेन्डिङ प्लेटफर्ममध्ये एक बनेको छ।
खोटाङको गाउँमा बैंक नहुँदा मानिसहरू स्वास्थ्य, शिक्षा र खेतीपातीका लागि छिमेकी र समुदायका भरपर्दो व्यक्तिहरूसँग पैसा सापटी लिन्थे। कार्कीका शिक्षक आमाबुबासँग पनि गाउँलेहरू आर्थिक सहयोग माग्न आउने गर्थे। बाल्यकालमा देखेको यही विश्वासमा आधारित सामाजिक कर्जा प्रणालीलाई प्रविधिको माध्यमबाट आधुनिक रूप दिन सकिने विचार उनमा आयो।
उनले आफ्नो शिक्षा र प्रविधिलाई समेटेर गाउँको त्यही अवधारणालाई करोडौँ मानिसका लागि उपयोगी हुने गरी लेन्डेनक्लबको रूप दिए। कार्की नेपालले दिएको संस्कार र भारतले दिएको अवसरप्रति कृतज्ञ छन्। उनी आफ्नो यो सफलतालाई करोडौँ मानिसका लागि अवसर सिर्जना गरेर सार्थक बनाउन चाहन्छन्।
कम्पेक्स छात्रवृत्ति परीक्षामा २० औँ स्थान हासिल गरेका कार्की आफ्नो विस्तारित परिवारमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा पढ्ने पहिलो व्यक्ति हुन्। परीक्षाको तयारीका लागि उनी दिनमा मात्र ३ घण्टा सुत्ने गर्थे।
यो छात्रवृत्तिले उनका सङ्घर्षशील आमाबुबाको आर्थिक भार मात्र कम गरेन, बरु उनमा ठूलो आत्मविश्वास पनि जगायो। छात्रवृत्तिले उनलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा, विभिन्न संस्कृति र नयाँ विचारहरूसँग जोडिने मञ्च प्रदान गर्यो। नेपालले उनलाई जग दियो भने भारतले सिक्ने र अघि बढ्ने अवसर दियो।
एनआईटी कुरुक्षेत्रमा पढ्दा इन्टरनेटको पहुँच सीमित भएकाले धेरै कुरा पुस्तक र आत्म-अध्ययनबाटै सिक्नुपर्थ्यो। त्यहाँ उनले सूर्यकिरण एयरोमोडेलिङ क्लबको स्थापनामा सघाए र कलेजकै पहिलो प्रमाणित रिमोट कन्ट्रोल (आरसी) विमान चालक बने।
पढाइबाहेक उनले डिजाइन, प्राविधिक उत्सव, सांस्कृतिक कार्यक्रम र कोष सङ्कलन जस्ता गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरे। यी अनुभवले उनलाई नेतृत्व, सामूहिक कार्य र समस्या समाधानको सीप सिकायो, जुन पछि उद्यमशीलतामा काम लाग्यो।
भारतको स्टार्टअप वातावरणले उद्यमशीलताका लागि ठूलो अवसर प्रदान गरेको कार्कीको अनुभव छ। त्यहाँ न्यून लागतमा धेरै मानिसका समस्या समाधान गर्ने प्रविधिलाई प्रोत्साहन गरिन्छ। पछिल्लो दशकमा भारतमा भएको डिजिटल पहिचान र भुक्तानी प्रणालीको विकासले लेन्डेनक्लब जस्ता फिनटेक कम्पनीका लागि बलियो आधार तयार गरिदियो।
रिजर्भ बैंक अफ इन्डियाको प्रगतिशील नीतिले पनि सुरक्षित नवप्रवर्तनलाई सघायो। कार्कीको विचारमा शैक्षिक लगानीले दुई देशबीच दीर्घकालीन सम्बन्धको पुल निर्माण गर्छ।
एनआईटी कुरुक्षेत्रमा प्रोफेसर, सिनियर र साथीहरूले उनलाई पढाइबाहिरका क्षेत्रमा पनि सधैँ प्रोत्साहित गरे। कमलकान्त गौर, जगदीप कपिल र बृजेश कपिल जस्ता मेन्टरहरूले उनलाई प्राविधिक ज्ञानसँगै सहकार्य र दृढताको पाठ सिकाए।
उनको पहिलो स्टार्टअप पाइपआईएसओको पहिलो ग्राहक ‘बार्क इन्डिया’ थियो। प्रविधि बनाउनुभन्दा बेच्न गाह्रो हुने बुझेका उनले व्यापारमा विश्वास र निरन्तरता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा त्यहीँबाट सिके।
कार्की कम्पेक्स छात्रवृत्ति पाउने नेपाली विद्यार्थीहरूलाई केवल डिग्री हासिल गर्नमा मात्र सीमित नहुन आग्रह गर्छन्। उनी विदेशमा पढ्दा नयाँ मानिस, संस्कृति र विचारसँग जोडिएर आफ्नो दृष्टिकोण फराकिलो बनाउन सुझाव दिन्छन्।
नेपालमा अथाह सम्भावना रहेकाले अबको प्राथमिकता अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता हुनुपर्ने उनको बुझाइ छ। नेपाल सगरमाथा, बुद्ध र वीर गोर्खालीका रूपमा मात्र नभएर विश्वस्तरीय अनुसन्धानकर्ता र उद्यमी उत्पादन गर्ने देशका रूपमा पनि चिनिनुपर्ने उनी बताउँछन्।
कम्पेक्स जस्ता कार्यक्रमले आईआईटी, आईआईएम र एम्स जस्ता प्रतिष्ठित संस्थाहरूमा नेपाली विद्यार्थीको पहुँच बढाउनुपर्ने र नेपालमै पनि यस्तै संस्थाहरू खोल्न सहकार्य गर्नुपर्ने उनको धारणा छ। कार्की हाल दुवै देशका नीति निर्माता र उद्यमीहरूसँग जोडिएर नेपालमा डिजिटल बैंकिङ र वित्तीय नवप्रवर्तनका क्षेत्रमा आफ्नो अनुभव बाँडिरहेका छन्।










प्रतिक्रिया