मंगलबार, ४ कार्तिक २०८२

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

समयपोष्ट २०८२ कार्तिक ४ गते ८:१५

Advertisement

नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरूको विद्युत् लाइन काट्ने अभियान सुरु गरेको छ।

प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ।

प्राधिकरणका अनुसार यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको थप महसुल नतिरेका कारण यो कारबाही गरिएको हो।

बक्यौता रकममा जगदम्बा स्टीलको १ अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिजको ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ रहेको छ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता रकम भुक्तानीका लागि सहज व्यवस्था गरिएको बताए। उनले तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूले बक्यौता तिर्न सक्ने गरी काउन्टर खुला राखिएको जानकारी दिए।

सिलवालले भने, “उद्योगहरूले किस्ता सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुन: जोडिनेछ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री