बुधबार, २९ असोज २०८२

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (तथ्यांकसहित)

समयपोष्ट २०८२ असोज २८ गते १९:१९

Advertisement

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ। कुल विदेशी विनिमय सञ्चिति २ खर्ब ८८ अर्ब १३५ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा यो सञ्चिति २० अर्ब ४१ करोड डलर बराबरको छ। यो सञ्चिति १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ।

चालु खाता १३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३३.१ प्रतिशतले बढेर भदौ महिनामा मात्र १७४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो वृद्धि २७.६ प्रतिशतको रहेको छ।
सरकारको खर्च १८० अर्ब १७ करोड रुपैयाँ भएको छ भने राजस्व परिचालन १५७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ र वार्षिक विन्दुगत आधारमा यो वृद्धि १२.४ प्रतिशतको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रको कर्जा वृद्धिदर ७.८ प्रतिशत रहेको छ।

Advertisement

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत रहेको छ भने ९१ दिनको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यो स्थिति अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बैंकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री