शनिबार, १ कार्तिक २०८२

युलेन्स स्कुलमा ९ वटा भवनमा लुटपाट र आगजनी, १ अर्ब २५ करोडको क्षति

समयपोष्ट २०८२ असोज ८ गते १२:४८


अन्तर्राष्ट्रिय मान्यताविपरीत शैक्षिक संस्थाहरूलाई ‘शान्ति क्षेत्र’ मान्नुपर्ने सिद्धान्तलाई बेवास्ता गर्दै गत भदौ २४ गते जेनजीका नाममा भएको आन्दोलनका क्रममा युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित विद्यालय र कलेजमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको छ। युलेन्स फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित ३ वटा भवन र काभ्रेको नालास्थित आउटडोर लर्निङ सेन्टरमा ठूलो मात्रामा विध्वंस गरिएको छ।

Advertisement

वक्तव्यमा उल्लेख भएअनुसार किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका विद्यार्थीहरूका लकरमा रहेका पुस्तक, स्टेसनरी सामग्रीहरू जलाइएका छन्। विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा नष्ट गरिएका छन्। यस्तै, युलेन्सका ८३ वटा बसहरूमा आगजनी भएको छ। फाउन्डेसनका अनुसार यो आक्रमणबाट विद्यालयमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

“यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने संगीन र कारुणिक मोडमा हामी उभिएका छौँ,” फाउन्डेसनको विज्ञप्तिमा भनिएको छ।

युलेन्समा अध्ययनरत १,४६१ विद्यार्थी र ५०० भन्दा बढी शिक्षक तथा कर्मचारीहरू यो घटनाबाट प्रभावित भएका छन्। विध्वंसका कारण विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् भने शिक्षक र कर्मचारीहरूको रोजगारी संकटमा परेको छ।

युलेन्समाथिको आक्रमणको प्रमुख कारण तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको नाम जोडिनु रहेको देखिन्छ। डा. राणा युलेन्सको व्यवस्थापन समितिको अध्यक्ष हुन्। यद्यपि, फाउन्डेसनले डा. राणाको विद्यालयमा कुनै लगानी नरहेको र उनलाई मानार्थरूपमा अध्यक्षको जिम्मेवारी दिइएको स्पष्ट पारेको छ।

Advertisement

“युलेन्स एजुकेसन फाउन्डेसनमा डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्तिविशेषको नाफा कमाउने निजी कम्पनी नै हो। यो मुनाफा वितरण नगर्ने कम्पनी हो,” फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ।

युलेन्सले पुनर्निर्माणपछि पुनः यस्तै विध्वंसको सामना गर्नुपर्ने त्रास रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पुनर्निर्माणपछि फेरि ध्वंसको सामना गर्नुपर्ने छैन भनेर कसरी ढुक्क हुने? कक्षाकोठामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवको सुरक्षामा कसरी विश्वस्त हुने? सडकमा बालबालिका लिएर गुड्ने हाम्रा सवारीसाधन निर्वाध र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट कसरी प्राप्त गर्ने?”

प्रतिक्रिया

सम्बन्धित सामाग्री