नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब, ३७ मुलुकसँग मात्र नाफा
आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने केवल २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ पुगेको छ।
नेपालले १६३ मुलुकसँग व्यापार गरेकोमा केवल ३७ मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ। बाँकी मुलुकसँगको व्यापारमा घाटा बेहोरेको विभागको तथ्याङ्कले देखाएको छ। आयातको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा बढ्दो क्रममा रहेको छ।
भारतसँगको व्यापारमा नेपालले १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँको मात्र निर्यात गरेको छ। भारतबाट डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, धान, मकै, फलाम/स्टिल, कोइला, बिटुमिन आदि आयात गरिएको छ। नेपालले भारततर्फ प्रशोधित सुर्यमुखी तेल, अलैंची, मिक्स जुस, धागो, सिमेन्टजस्ता वस्तु निर्यात गरेको छ।
यस्तै, चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ भने केवल २ अर्ब ६३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। चीनबाट मोबाइल फोन, विद्युतीय गाडी, स्याउ, ल्यापटप, लसुन, जुत्ताचप्पल आदि आयात गरिएको छ भने नेपालले गलैंचा, फेल्टका सामान, काठका सामग्री, यार्चागुम्बा, अगरबत्ती आदि निर्यात गरेको छ।
भन्सार विभागका अनुसार अफगानिस्तान, डेनमार्क, रुस, रोमानिया, अस्ट्रियालगायतका मुलुकसँग नेपालको व्यापार नाफामा रहेको छ। अफगानिस्तानबाट ८ करोड ४२ लाख ९७ हजार रुपैयाँको वस्तु आयात हुँदा ७७ करोड ४ लाख १५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ। नेपालले मेलन, अन्जिर, सुकेको खुर्सानी आदि आयात गरेको छ भने एक्स्काभेटरजस्ता मेसिनरी सामग्री निर्यात गरेको छ।
डेनमार्कबाट ३६ करोड २६ लाख २२ हजार रुपैयाँको सिरिन्ज, क्यामेराका पार्टपुर्जा, डाइपर आदि आयात भएको छ भने नेपालले ७० करोड १५ लाख ३६ हजार रुपैयाँको फेल्टका सामान, पोते, जर्सी, जुत्ताचप्पल, स्कार्फ, अचार आदि निर्यात गरेको छ।
नेपालले भारत, चीन, अर्जेन्टिना, युक्रेन, युएई, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकसँग ठूलो व्यापार घाटा बेहोरिरहेको छ। निर्यात वृद्धि गर्न र आयातमा निर्भरता कम गर्न नीतिगत सुधार र उत्पादन वृद्धिमा जोड दिनुपर्ने देखिन्छ।
प्रतिक्रिया