नेप्से २७०० माथि बन्द, कारोबार रकममा सामान्य कमी
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.१४ अंक बढेर २७०३.९६ विन्दुमा पुग्दै साढे २ महिनापछि २७०० विन्दुको स्तर पार गरेको छ। यसअघि गत वैशाख ७ गते नेप्से यो स्तरमाथि बन्द भएको थियो।
नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने सामान्य घटेको छ। बुधबार ९ अर्ब ७४ करोडको शेयर कारोबार भएको बजारमा बिहीबार ३११ स्टकको ९६,४११ पटकको कारोबारमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ६३.२ रुपैयाँ बढेर ६९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी उकालो लागेको छ। यता, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ३१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। साहस उर्जाको २७ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ८ वटाको परिसूचकमा वृद्धि भएको छ भने ५ वटाको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक ४.०९ प्रतिशतले उकालो लागेर सर्वाधिक वृद्धि भएको छ। जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, व्यापार उपसमूहको परिसूचक भने १.२९ प्रतिशतले घटेर सबैभन्दा बढी ओरालो लागेको छ।
प्रतिक्रिया