मंगलबार, १० असार २०८२

नेपालमा इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित बीवाईडी डल्फिन २०२५ सार्वजनिक

समयपोष्ट २०८२ असार ९ गते १६:३२

Advertisement

नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि.ले इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ उचाइमा पुर्‍याउँदै बीवाईडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरेको छ। यो संस्करणले अघिल्लो संस्करणको सफलतामा आधारित रही थुप्रै उन्नत विशेषताहरू समावेश गरेको छ।

सबैभन्दा उल्लेखनीय विशेषता हो, ईभी उद्योगमै पहिलो पटक प्रयोग गरिएको लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी), जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ। यो ब्याट्री परम्परागत ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने र १५ वर्षसम्मको आयु भएको कम्पनीको दाबी छ। यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनीयतामा नयाँ मापदण्ड कायम गरेको छ। एलएफपी ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ।

बीवाईडी डल्फिन २०२५ मा अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिको निरन्तरता छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। डीसी चार्जिङमार्फत ब्याट्री ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

Advertisement

नयाँ संस्करणमा नेपालको विविध भू–परिस्थितिका लागि ट्युन गरिएको स्पोर्टी ह्यान्डलिङ सस्पेन्सन, रातमा राम्रो दृश्यता दिने एलईडी हेडलाइट्स, सुधारिएको कुलिङ र हिटिङसहितको एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की र प्यासेन्जर डोर स्विचजस्ता सुविधाहरू थपिएका छन्।

यसमा नयाँ एटलान्टिस ग्रे रंग थपिएसँगै अब यो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट रंगमा उपलब्ध छ। यी सबै प्रविधि र विशेषतासहित बीवाईडी डल्फिन २०२५ को मूल्य रु. ४१.१५ लाख तोकिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश छ।

सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी डेलिभरी ८ लाख ३० हजार युनिट पुगेको र नेपालमा २ हजार ४९० युनिट डेलिभर भएको जानकारी दिइयो। नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याकको रूपमा स्थापित यो गाडीले प्रदर्शन, सहजता र वातावरणमैत्री डिजाइनमार्फत ग्राहकलाई आकर्षित गरिरहेको छ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, “हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं। बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन, यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो।”

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले थपे, “बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौं।”

बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूम र डिलर नेटवर्कमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री