शिक्षा बजेटको ७८% तलब भत्तामै खर्च
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहका लागि वित्तीय हस्तान्तरण गरेको बजेटको ७८.७१ प्रतिशत तलब भत्तामै खर्च हुने भएको छ।
शिक्षामन्त्री रघुजी पन्तले प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा उठेका प्रश्नको जवाफ दिँदै यो जानकारी दिएका हुन्।
मन्त्री पन्तका अनुसार, स्थानीय तहका लागि विनियोजित कुल १ खर्ब ४५ अर्ब ६७ करोड ८८ लाख बजेटमध्ये १ खर्ब १४ अर्ब ६६ करोड १० लाख ७४ हजार तलब भत्तामा खर्च हुनेछ।
तलब, भत्ता, दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चालन खर्च, निःशुल्क स्यानिटरी प्याड र द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रम अनिवार्य दायित्वअन्तर्गत पर्छन्। यी दायित्वमा कुल बजेटको ९२ प्रतिशत खर्च हुने उनले बताए।
बाँकी ८ प्रतिशत बजेट मात्र भौतिक पूर्वाधार, प्राविधिक शिक्षा, व्यावसायिक तालिम परिषद् र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमका लागि छुट्याइएको मन्त्री पन्तले उल्लेख गरे।
प्रतिक्रिया