इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेका आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई जिउँदै इँट्टाभट्टामा मान्छे पोलेर हत्या गरेको अभियोगबाट सफाइ दिने दुईजना न्यायाधीशलाई न्याय परिषद्ले छानबिनका लागि तानेको छ।
उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई परिषद्मा तान्ने निर्णय बिहीबार बसेको न्याय परिषद् बैठकले गरेको हो। परिषद् स्रोतका अनुसार उनीहरूविरुद्ध उजुरी परेपछि प्रारम्भिक अध्ययनका आधारमा छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाइएको हो।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई लामो समयदेखि कारागारमा रहेका पूर्वसांसद आलमलाई गत जेठ १४ गते सफाइ दिने निर्णय न्यायाधीशद्वयले गरेका थिए। उनीहरूको उक्त फैसलाले सार्वजनिक रूपमा तीव्र आलोचना र विवाद निम्त्याएको थियो।
पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनका बेला बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेको थियो। त्यसै घटनामा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बुवा श्रीनारायण सिंह राजपूतले न्यायाधीशहरूविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।
त्यसअघि पनि जेठ १६ गते युवराज पौडेल ‘सफल’ ले आलमलाई सफाइ दिने निर्णय आपराधिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै परिषद्मा उजुरी दिएका थिए।
प्रतिक्रिया