धुलिखेल नगरसभाबाट प्रदेश सभा खारेजीको माग, सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय
धुलिखेल नगरपालिकाको १७औँ नगरसभा अधिवेशनले नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेको प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै उक्त तह खारेज गर्न सङ्घीय सरकारसमक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ।
नगरसभा सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको प्रदेश सभा खारेजीसम्बन्धी प्रस्तावमा प्रदेश तहको प्रभावकारिता र आवश्यकतामाथि पुनर्विचार गर्नुपर्ने तर्क प्रस्तुत गरिएको थियो। प्रस्तावमाथि व्यापक छलफलपछि नगरसभाले सर्वसम्मत रूपमा उक्त प्रस्ताव पारित गरेको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिए।
सामाजिक सञ्जालमार्फत उनले लेखे, “धुलिखेल नगरपालिकाको १७औँ नगरसभा अधिवेशनबाट अर्जुन न्यौपानेद्वारा प्रस्तुत प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।”
नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्षहरू र नगरसभा सदस्यहरूको पूर्ण उपस्थितिमा पारित यो निर्णयलाई स्थानीय तहबाट उठाइएको महत्त्वपूर्ण नीतिगत सन्देशका रूपमा हेरिएको छ। सङ्घीय संरचनाको कार्यक्षमता, जवाफदेहिता र आर्थिक भारसम्बन्धी बहस चलिरहेका बेला धुलिखेलको यो कदमले प्रदेश तहको औचित्य र सुधारको आवश्यकतामाथि राष्ट्रिय बहसलाई पुनः तीव्रता दिने देखिएको छ।
प्रतिक्रिया