पर्यटन प्रवर्द्धनमा नेपाल र बङ्गलादेशको सहकार्य
नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै द्विपक्षीय सहकार्यलाई फराकिलो बनाइने भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बङ्गलादेशको चट्टग्राममा भएको ‘नेपाल–बङ्गलादेश पर्यटन सम्मेलन’ मार्फत दुई देशबीचको पर्यटन र आपसी सहकार्यलाई बलियो बनाएर लैजाने समझदारी बनेको हो ।
‘गन्तव्य नेपालः बङ्गालको खाडीदेखि हिमालयसम्म’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औँल्याउँदै भन्नुभयो, “हिमालयको शिखरसँग बङ्गालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ ।” साथै, उहाँले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेको कार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो ।
पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूको बारेमा प्रस्तुति दिनुभयो । उहाँले बङ्गलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रुपमा चिनाउँदै, नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गर्नुभयो । साथै, उहाँले दुवै देशका ट्राभल एजेण्टहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउने आह्वान गर्नुभयो ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गर्नुभयो । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उहाँले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी गराउनुभयो ।
बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू एशोसिएशन अफ ट्राभल एजेन्ट्स अफ बङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टीओएबी) चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गर्नुभयो ।
कार्यक्रममा ‘¥याफल ड्र’ मार्फत बङ्गलादेशका सहभागीहरूलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौँ आवागमन हवाई टिकटसमेत प्रदान गरिएको छ । उक्त पुरस्कारहरू नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र बङ्गलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच नेपाल र बङ्गलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूबीच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू सम्पन्न भएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया