बढ्यो नेप्से परिसूचक, तीन कम्पनीको शेयर सकारात्मक सर्किटमा
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से परिसूचक आइतबार ०.४७ अंकले उकालो लाग्दै २,६५५.८५ विन्दुमा पुगेको छ। यद्यपि, परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ।
गत बिहीबार १२.५ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ३०८ कम्पनीको ९५,३७४ पटकको कारोबारमा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबारको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, बरुण हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। तर, नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य भने करिब ४.५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यस्तै, ङादी ग्रुप पावरको ८७ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको ६४.५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
आइतबार १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४७ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।
नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा आएको कमीले बजारमा मिश्रित प्रभाव देखिएको विश्लेषकहरूले बताएका छन्।
प्रतिक्रिया