मंगलबार, १० असार २०८२

२.७७ प्रतिशतमा झर्‍यो मूल्यवृद्धि दर

समयपोष्ट २०८२ जेठ २७ गते १२:४७

Advertisement

देशमा उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) निरन्तर घट्दो क्रममा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०८२ सालको वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ। चैत महिनामा यो दर ३.३९ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही अवधिमा ४.४० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार, समीक्षावधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६।१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८।११ प्रतिशत, मसलाको २.२० प्रतिशत र माछा तथा मासको ०.४८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ ।

Advertisement

यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री