विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि, दश महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रुपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो वृद्धि दर १६.९ प्रतिशत रहेको थियो।
२०८२ सालको वैशाख महिनामात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। गत वर्षको वैशाख महिनामा यो रकम १ खर्ब १५ अर्ब ९९ करोड थियो।
यही अवधिमा अमेरिकी डलरमा गरिएको हिसाबले विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ। गत वर्ष सो अवधिमा अमेरिकी डलरमा विप्रेषण वृद्धि दर १४.८ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा कुल खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ थियो।
यस बीचमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा समेत वृद्धि भएको छ। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५ हजार ६१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ता सङ्ख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थिए।
प्रतिक्रिया