शुक्रबार, २३ जेठ २०८२

११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै हिम स्टार उर्जा कम्पनी

समयपोष्ट २०८२ जेठ २३ गते १०:०८

Advertisement

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो।

कम्पनीले रु. ३७ करोड ३० लाखको जारी पूँजीको ३० प्रतिशत, अर्थात् रु. ११ करोड १९ लाख बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये, रु. १ करोड ८६ लाख ५० हजार बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

आवेदन दिन सक्ने क्षेत्र
यो शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८ (साविक भुसिङ्गा गाविस) का सम्पूर्ण वडा र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ (साविक गोली गाविसका वडा नं. १, २, ३, ४, ५) का स्थानीय बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ९३ हजार २५० कित्ता शेयर निष्काशन गरिनेछ, जसको कुल मूल्य रु. ९३ लाख २५ हजार हुनेछ।

Advertisement

न्यूनतम १० कित्ता, अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजनाका लागि स्थानीय बासिन्दाका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म रहेको छ भने वैदेशिक नेपालीहरूले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ।

रेटिङ र आयोजना विवरण
आईपीओको रेटिङका लागि इक्रा नेपालले हिम स्टार ऊर्जा कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस” प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत रु. १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रहेको छ। प्रति मेगावाट लागत रु. २४ करोड ७७ लाख ७ हजार ३८७ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २७.७ वर्ष बाँकी रहेको छ।

साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुटमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको उल्लेख गरिएको छ।

आवेदन दिने स्थान र प्रक्रिया
स्थानीय बासिन्दाहरूले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका–८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन, र लिखुपिके–२ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ। आवेदन फारामको मूल्य रु. २ रहेको छ।

विदेशमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा अनलाइन सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री