फ्लाईओभरको स्थलगत निरीक्षण गर्न भौतिकमन्त्री ग्वार्कोमा- जेठ अन्त्यसम्ममा सवारीसाधन सञ्चालनमा आउछ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर जेठ महिनाको अन्त्यसम्ममा पूरा गरी सवारी सञ्चालनमा ल्याइने बताएका छन्।
आइतबार बिहान फ्लाईओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले निर्माण कम्पनीलाई बाँकी काम छिटो सक्न निर्देशन दिँदै भने, “अब पनि ढिलाइ गर्ने छुट छैन। यदि कुनै अप्रत्याशित प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नु पर्छ। यो एउटा प्रतीक्षाको आयोजना हो।”
ग्वार्को फ्लाईओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भइरहेको छ। साथै, ट्राफिक लाइट जडानको काम पनि हुने जनाइएको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले निरीक्षणका क्रममा निर्माणमा देखिएका प्राविधिक समस्याहरू समाधान भइसकेको जानकारी दिए। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि यो फ्लाईओभर अत्यन्त महत्वपूर्ण रहेकोले प्राथमिकताका साथ काम भइरहेको बताए।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार, भौतिक संरचनासम्बन्धी मुख्य काम सम्पन्न भइसकेको छ भने अहिले बाँकी भागमा कालोपत्रेको काम भइरहेको छ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त फ्लाईओभर २०८० सालको फागुन ११ गतेभित्र सम्पन्न गरिनुपर्ने सम्झौताअनुसार थियो। तर समयमै काम पूरा नभएपछि म्याद थप गरी निर्माण अघि बढाइएको हो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेर जेभी, काठमाडौंले लिएको हो।
प्रतिक्रिया