नेप्से परिसूचक घट्यो, यी पाँच स्टकमा सकारात्मक सर्किट
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा झरेको छ। परिसूचकसँगै बजारको कारोबार रकम पनि ओरालो लागेको छ। गत साताको बुधबार ११.५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आइतबार ३०० स्टकको ८८,९५५ पटकको कारोबारमा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँबराबरको २ करोड ४० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन्।
कारोबारमा आएका कम्पनीहरूमध्ये सिन्धु विकास बैंकको शेयरमूल्य ७.४२ प्रतिशतले घटेर सर्वाधिक ओरालो लागेको छ। यता, कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६६ करोड ५ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। ङादी ग्रुप पावरको ६० करोडभन्दा बढी र युनिभर्सल पावर कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेप्से परिसूचक घटे पनि आइतबार होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक सकारात्मक रह्यो भने ९ उपसमूहको परिसूचक घट्यो। होटल तथा पर्यटन उपसमूहको परिसूचक ६.५० प्रतिशतले उकालो लागेको छ। यस उपसमूहअन्तर्गत सूचीकृत ६ वटै होटलको शेयरमूल्य बढ्दा परिसूचकमा उच्च वृद्धि भएको हो। यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उक्लिएको छ। तर, वित्त उपसमूहको परिसूचक भने ३.७२ प्रतिशतले घटेर सर्वाधिक प्रभावित भएको छ।
बजारमा उतारचढाव कायमै रहे पनि होटल तथा पर्यटन र विकास बैंक उपसमूहमा लगानीकर्ताको रुचि देखिएको छ। सकारात्मक सर्किट हान्ने कम्पनीहरूले बजारमा केही सकारात्मक सङ्केत दिए पनि समग्र बजार भने सुस्त गतिमा देखिएको छ। लगानीकर्ताहरूले बजारको प्रवृत्तिलाई नजिकबाट नियाल्दै सजगतापूर्वक लगानी गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया