जगदम्बा स्पिनिङ मिलमा एनआईबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने
एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल इक्विटी पार्टनरले सौरभ ग्रुपको जगदम्बा स्पिनिङ मिलमा लगानी गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा सोमबार एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथबहादुर पाण्डे र जगदम्बा स्पिनिङका तर्फबाट विष्णु न्यौपानेले हस्ताक्षर गरे ।
सो अवसरमा एनआईएमबी एस क्यापिटलका सीईओ शिवन्थ पाण्डेले एनआईबीएल इक्विटी पार्टनर्स जगदमाबा स्पिनिङ मिल्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले नेपालको अर्थतन्त्रलाई बढावा दिन र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले नेपालमा जगदम्बा स्पिनिङ मिल्स जस्ता संस्थाको आवश्यकता रहेको बताए ।
त्यस्तै जगदम्बा स्पिनिङ मिल्सका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले जगदम्बा स्पिनिङ मिल्स नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा रहेको साथै दक्षिण एसियामा व्यापार विस्तार गर्ने योजनामा रहेको बताए ।
उनले जगदम्बा स्पिनिङ मिल्स उच्च-गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासहरूमा ध्यान केन्द्रित रहेको बताए । उनले यस लगानीले कम्पनीको बृद्धिलाई अघि बढाउन, यसको उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आईपीओ जारी गरि ४० प्रतिशतले क्षमता विस्तार गर्ने लक्ष्य समेत रोखेको छ ।
सन् २००५ मा स्थापित, जगदम्बा स्पिनिङ मिल्स नेपालको एक प्रमुख धागो निर्माता हो। यसको कारखाना रुपन्देहीको कमहरिया गाविस–४ मा रहेको छ । यो कम्पनी अन्तराष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका उत्पादनहरू उत्पादन गर्न प्रतिबद्ध छ ।
यसले आफ्ना उत्पादनहरुलाई अन्तराष्ट्रिय स्तरमा समेत निर्यात गर्दै आइरहेको छ ।
जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता छ । यसको उत्पादनको लगभग ९५ प्रतिशत् मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ। कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ । जेएसएमले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको छ । कम्पनी उच्च गुणस्तरको धागो उत्पादन गरी नेपालको अग्रणी कपडा उद्योग बन्ने लक्ष्यमा छ।
जगदम्बाले पोलिस्टर, ब्लेन्डेड लगायतका धागो उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया