मंगलबार, १८ वैशाख २०८१

बाराही हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन सकिने

समयपोष्ट २०७९ मंसिर २१ गते ८:०६

Advertisement

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएको बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री