बुधबार, १९ वैशाख २०८१

सर्वदलीय बैठक : एमसीसी अघि बढाउन नदिएको भन्दै सभामुखको आलोचना

समयपोष्ट २०७८ वैशाख ४ गते १६:३९

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा विभिन्न तीन बिषयमा छलफल भयो ।

शनिबारको बैठकमा बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल भयो ।

एमाले नेता प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भयो । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेको बताईएको छ । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए ।

Advertisement

यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए ।

यसैगरी बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए ।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए । यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री