शनिबार, २१ असार २०८२

सोलुखुम्बुमा १२ र महोत्तरीमा १८० को जमानत जफत

समयपोष्ट २०७४ मंसिर २८ गते ८:०१

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ ।

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार १२ जना उम्मेदवारले मत ल्याउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।

जमानत जफत हुनेमा प्रतिनिधिसभा सदस्यतर्फ पाँच, प्रदेशसभा (क)को एक स्वतन्त्रसहित चार र प्रदेशसभा (ख)को तीन गरी १२ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा तीनै ठाउँ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस रहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्र, नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेमकिपा र राजपाका उम्मेदवार थिए भने प्रदेश सभा (क)मा वाम गठबन्धबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालसहित एक स्वतन्त्र उम्मेदवारले चुनावमा भाग लिएका थिए ।

यसैगरी महोत्तरीमा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये पूर्व सांसद चन्देश्वर झासहित  १८० जनाको जमानत जफत भएको छ ।

Advertisement

पूर्व सांसद झाले महोत्तरी ३ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपाको बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचन अधिकारी पिंकी रायका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा नौ, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १८ र क्षेत्र नंम्बर ४ मा १६ जनाको जमानत जफत भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा आठ, (ख) मा १२, क्षेत्र नं २ को (क) मा पाँच, (ख) मा १९, क्षेत्र नं ३ को (क) मा ११, (ख) मा ३०, क्षेत्र नं ४ को (क) मा १५ र (ख) मा २१ जनाको जमानत जफत भएको उहाँले जानकारी दिनुभयो । जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री