मंगलबार, १८ वैशाख २०८१

३२ जिल्लामा १११ सिटका लागि मतदान जारी,प्रतिनिधिसभा र प्रदेशसभाका ७०२ उम्मेदवार चुनावी मैदानमा

समयपोष्ट २०७४ मंसिर १० गते ६:०६

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

Advertisement

प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा  कुल १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन् ।

आज  ३१ लाख ९१ हजार ९४५ मतदाता पहिलो चरणको निर्वाचनमा सहभागी हुँदैछन् ।  पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । 

सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा यो निर्वाचन हुन लागेको हो ।

मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ निर्वाचनस्थल र ४ हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री