सालपा विकास बैंकले आजदेखि आईपीओ निष्कासन गर्दै

सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि बैंकले दोस्रो चरणमा सर्वसाधारणलाई लक्षित गरी आईपीओ निष्कासन गरेको हो।

Advertisement

बैंकको जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको थियो।

यसमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। त्यस्तै, ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।

Advertisement

अब सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता (१४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर) शेयर निष्कासन गरिएको छ। यसमा बैंकका कर्मचारीहरूलाई २६ हजार ११९ कित्ता सुरक्षित गरिएको छ।

प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको यो आईपीओमा छिटोमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनपूर्व गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री