
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन अहिलेसम्म ४६ वटा राजनीतिक दलले ५० हजार रुपैयाँ धरौटी बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्म शीर्ष दलहरू सहित ४६ दलले बन्दसूची पेस गर्नुअघि धरौटी रकम बुझाएका हुन् ।
धरौटी बुझाउने दलहरूको सूचीमा पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने अन्तिममा नेशनल रिपब्लिकन पार्टी रहेको आयोगले जनाएको छ ।
यस सूचीमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा (एमाले) लगायतका प्रमुख दलहरू समावेश छन् ।
निर्वाचन आयोगको व्यवस्थाअनुसार समानुपातिकतर्फ बन्दसूची पेस गर्नुअघि प्रत्येक राजनीतिक दलले ५० हजार रुपैयाँ धरौटी अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ ।
यसअघि समानुपातिक प्रणालीमा सहभागी हुन ९३ देखि १०० दलहरूले निवेदन दिएका थिए ।












प्रतिक्रिया