
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको लामो उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन्। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अपोलो अस्पतालमा उपचार गराएर उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौँ आइपुगेकी हुन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनाल दम्पतीको निवासमा भएको आगजनीमा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन्। आगलागीमा उनको शरीरको १५–१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी बायाँ हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदा अवस्था जटिल बनेको थियो। सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनिया संक्रमण बढेपछि चिकित्सकको सल्लाहमा एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो।
अपोलो अस्पतालमा लामो समय आइसियूमा राखेर उपचार गरिएको थियो। संक्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गरेका थिए। अन्ततः संक्रमण फैलिन नदिन कुमभन्दा तलको बायाँ हात शल्यक्रियाद्वारा काट्नुपरेको थियो। त्यसपछि क्रमशः स्वास्थ्यमा सुधार आएपछि उनलाई आइसियूबाट सामान्य वार्डमा सारिएको थियो। पछिल्ला हप्ताहरूमा अस्पतालबाहिर बसेर नियमित फलोअप उपचार गराउँदै आएकी थिइन्।










प्रतिक्रिया