
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन (आइतबार) को तुलनामा परिसूचकमा गिरावट आएसँगै कारोबार रकममा पनि कमी आएको हो।
आइतबार ४ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्। ६५ हजार ३१२ पटकको कारोबारबाट कुल ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँबराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
बजारमा केही कम्पनीका शेयरमा उल्लेख्य वृद्धि देखिएको छ। एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभल (१० प्रतिशत) मा कारोबार भएको छ। कम्पनीको अन्तिम शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा पुगेको हो। यस्तै, १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी तथा १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशतले बढेको छ।
यता, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको १० करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढी तथा मञ्जुश्री फाइनान्सको ७ करोड रुपैयाँ नाघ्ने कारोबार भएको छ।
१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत तथा जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।










प्रतिक्रिया