सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

काठमाडौँ, २२ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ ।

Advertisement

आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी ‘प्रदर्शन’ का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्व पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु ६२० तोकिएको छ ।

Advertisement

मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान कायम गरेको छ । यस्तै, विभिन्न दश जिल्लाका गरिब परिवारको सूचीसमेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताउनुभयो । तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरीलगायत गरी २७ गरिब परिवारको सूची स्वीकृत गरिएको हो ।

यस्तै, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोश्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री