सोमबार, १० कार्तिक २०८२

यस्तो रह्यो ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’

समयपोष्ट २०८१ मंसिर ३० गते १८:४६

Advertisement

अङ्ग प्रत्यारोपण सम्वन्धी दुई दिने सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।

ट्रान्सप्लान्ट कम्युनिटि अफ नेपालको आयोजनामा ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ नामक सम्मेलन शनिवार शुरु भएर आईतवारसम्पन्न भएको हो । सम्मेलनको नारा ‘विकासोन्मुख राष्ट्रहरुमा अङ्ग दानलाई प्रवर्धन गर्नु’ भन्ने रहेको थियो ।

सम्मेलनको समापन कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक वर्षभित्र सातै प्रदेशमा प्रत्यारोपण सेवा बिस्तार गरिने बताए।

Advertisement

मन्त्री पौडेलले प्रत्यारोपण सम्बन्धी यस्ता सम्मेलनले स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने हुँदा सम्मेलनबाट आएका कुराहरुलाई कानूनी रुपमा कुनै किसिमको नीति नियम बनाउन पर्ने भए विज्ञको राय सुझाव सहित पेश गर्न र तदअनुसार सम्बोधन गर्न आफू तत्पर रहेको समेत जिकीर गरे ।

उनले प्रत्यारोपणको सेवामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको खुलेरै प्रंशसा गरे । सोही कार्यक्रममा मन्त्री पौडेलले मस्तिष्क मृत्यू पश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतिक्षा सुचि सहितको राष्ट्रिय अभिलेखको अनलाईन सफ्टवेयरको शुभारम्भ समेत गरे । उक्त सफ्टवयरमा अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका विरामीहरुको विवरण र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमावलीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, भारत लगायतका देशका प्रत्यारोपण विज्ञहरुको उपस्थिती रहेको थियो । साथै प्रत्यारोपणको क्षेत्रमा विविध विषयमा विशेषज्ञहरुको २६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा अन्य देशहरुमा भएका नयाँ कुराहरुको जानकारी लिंदै नेपालमा कसरी प्रत्यारोपणको क्षेत्रमा अझ बढी काम गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री