मंगलबार, ६ साउन २०८२

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

समयपोष्ट २०८१ मंसिर २४ गते १६:४७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ। सिलवालले नागरिकता र राहदानीमा गलत विवरण प्रस्तुत गरी लाभ र सुविधा लिएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिलवालले आफ्नो नागरिकतामा पटक-पटक जन्ममिति संशोधन गरी झुट्टा विवरण पेस गरेको तथ्य फेला परेको छ।

सिलवालले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२।११।२४ मा प्राप्त नागरिकतामा उमेर १६ वर्ष रहेको र पछि काठमाडौंबाट जारी प्रतिलिपि नागरिकतामा जन्ममिति २०१६।०७।२२ भएको भेटिएको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा २०१५।०४।१५ उल्लेख गरिएको छ।

सिलवालले निजामती सेवामा आफ्नो जन्ममिति २०१५।०४।१५ को आधारमा प्रवेश गरी २०७३।०४।१५ मा अनिवार्य अवकाश पाएको र सोही जन्ममितिका आधारमा निवृत्तिभरण अधिकार पत्र प्राप्त गरेको अख्तियारले जनाएको छ।

सिलवालले कूटनीतिक र विशेष राहदानी लिने क्रममा पनि जन्ममिति २०१८।०७।२४ कायम गरी वास्तविक उमेरभन्दा तीन वर्ष घटाएर लाभ लिएको पाइएको छ।

सिलवालले राष्ट्रसेवकको पदमा रहँदा गलत विवरणको आधारमा २०८०।०४।१५ पछि पनि लाभ, सुविधा र अधिकारको दुरुपयोग गरेको भन्दै ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ असुलउपर गर्न अख्तियारले विशेष अदालतमा माग दाबी गरेको छ।

सिलवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ। अदालतले यस प्रकरणमा आगामी कदम के लिन्छ भन्ने प्रतीक्षामा सबैको ध्यान केन्द्रित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री