शुक्रबार, २० माघ २०७९

‘चक्लेटी’ स्वादमा चिया, प्रतिकिलो चार हजार रुपैयाँ तिरेर रसियन ब्यापारीले उद्योगबाटै लैजान्छन्

समयपोष्ट २०७९ मंसिर २० गते १९:५१


टीका खतिवडा
हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ ।

Advertisement

स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चियाले नै स्वागत गर्ने गरिएको छ । त्यस्तै पाहुना लाग्न बाहिर जाँदा कोसेलीसमेत चिया नै बोकेर जाने चलन छ ।

पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महँगोसमेत हुँदै गएको छ । सरदर रु चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीको भनाइ छ । हाते चिया बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुन्छ । हाते चिया किसानले घरमा नै बनाउने गरेका छन् । यो चिया विशेष गरेर दूधसँग मिसाएर पिउने गरिन्छ तर ग्रीन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादन उद्योगबाट मात्र हुने गरेको छ । विदेशमा समेत राम्रो मूल्यमा निर्यात हुने यी चिया मेसिनबाट मात्र बनाउन सम्भव छ ।

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँअर्थात् चक्लेटी चिया निर्माण गर्दै आउनुभएको छ । उहाँले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताउनुभयो । यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उहाँ आफैँले चक्लेटी चिया नाम दिनुभएको छ ।

अन्य चियाभन्दा केही फरक गरी बनाइएको चियालाई चक्लेटी चिया नाम दिइएको उहाँको भनाइ छ । देउमाई नगरपालिका–४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उहाँले चक्लेटी चिया उत्पादन गर्दै आउनुभएको छ । विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको छ । करिब रु चार हजार प्रतिकिलो उद्योगमा नै आएर सो देशका व्यापारी तथा नागरिकले चिया लैजाने गरेको उद्योगी श्रेष्ठको भनाइ छ । उहाँले केही वर्ष अघिदेखि सो उद्योगमा उक्त चिया प्रशोधन गर्दै आउनुभएको छ ।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेको उहाँले बताउनुभयो । यो चिया कोरोनाकालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ । नेपालमा खासै बेच्न नपरेको उहाँ बताउनुहुन्छ । रसियाका लागि व्यापारी तथा चिया पारखी आफैँ आएर लजाने हुँदा मागअनुसार मात्रसमेत बनाइने गरेको छ । यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ ।

हुन त ग्रीन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारका स्वादमा पाइन्छ तर यो चिया विदेशी प्रायः सबै देशका नागरिकले मन पराउने गरेको उहाँको भनाइ छ । इलाममा चियाका धेरै परिकार निर्माण हुन्छन् । ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेशल ग्रिन’ र यिनमा पनि सिल्भर र गोल्ड गरेर चिया निर्माण हुन्छन् । यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ ।

सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकबाट व्यापारी आउने गरेका छन् । राम्रो मूल्यसहित राम्रो चिया तेस्रो मुलुक निर्यात भइरहेको छ । नेपालको चिया निर्यातका लागि आफ्नै लोगोसमेत छ तर साना उद्योगले लोगो पहुँचवालाको लागि मात्र भएको दुःखेसो गर्दै आएका छन् ।

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ । विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ ।

त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुनुहुन्थ्यो । उच्च ओहदाका चिनियाँ व्यक्तिबाट उपहार प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेशमा इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ । नेपालमा सोपश्चात् चियाखेतीको औपचारिक सुरुआत भएको मानिन्छ ।

थापाले विसं १९२० मा इलाम चिया कमानमा प्राप्त बिरुवा रोप्नुभएको बताइन्छ । त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । नजिकै रहेको दार्जिलिङमा पनि सोही समयमा चिया रोप्न थालिएको थियो । भारतको दार्जिलिङ र नेपालमा सो बेलाको प्रविधि साटासाट गर्दै धमाधम चिया लगाउन थालियो । भारतमा चियाखेती फस्टाइरहँदा नेपालमा भने जहानियाँ राणाशासनका अगाडि चिया खेती फस्टाउन नपाएको जानकार बताउँछन् तर त्यही समयमा भारतको दार्जिलिङमा चिया खेती व्यापक हुँदै गएको बताइन्छ । पछि दार्जिलिङको चिया ब्राण्ड नै स्थापित गर्दै अघि बढ्यो तर नेपालमा भने निकै पछि अर्थात् केही वर्षअघि मात्र निर्यातका लागि लोगो प्राप्त भयो ।

विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको बताइन्छ ।
चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । विश्व बजारमा चार करोड किलोग्रामभन्दा बढी चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिङले उत्पादन र माग पूरा गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलोग्राम मात्रै उत्पादन हुने गरेको आँकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भए पनि नेपालले चियाखेतीबाट खासै लाभ लिन सकेको छैन ।

तत्कालीन राजा वीरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गर्नुभएको थियो । हाल नेपालको पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत केही मात्रामा चिया लगाइएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

गत आर्थिक वर्षमा रु दुई अर्ब ६८ लाख बराबरको ११ हजार एक सय ४२ मेट्रिक टन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसानको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा कसैले चासो नराखेको यहाँका किसान तथा उद्योगीको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री