कृषिवस्तुको आयात घट्यो

वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो ।

Advertisement

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपियाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपियाँको निर्यात भएको छ ।

चार महिनामा कृषिजन्य वस्तुको आयातमा समेत उल्लेख्य कमी आएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा कृषिजन्य वस्तुको आयात ३३ दशमलव २४ प्रतिशतले घटेर ९७ अर्ब १९ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ४५ अर्ब ५८ करोड रुपियाँको आयात भएको थियो ।

यो चार महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रुपियाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रुपियाँको भटमास आयात भएको थियो । यस्तै पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपियाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रुपियाँको आयात भएको थियो । यस्तै ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रुपियाँ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा सात अर्ब २८ करोड रुपियाँ आयात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री