तस्बिर कथा : वसन्तका ३० वसन्त
मनोज पौडेल
सेताम्य फुलेको कपाल । सरल र मिजासिलो आनीबानी । उच्चस्तरको ज्ञान र बोली । सुन्दा सबै मन्त्रमुग्ध हुन्छन् । विषय विज्ञतामा अब्बल उनी सामान्य नागरिकसरह जीवनयापन गरिरहेका छन् । तर्कसङ्गत तथ्य र प्रमाणका आधारमा कुरा गरेर सबैलाई चित्त बुझाउन सक्ने क्षमताका धनी छन् । त्यसैले उनी बुद्धस्थलका बारे खोज–अनुसन्धान गर्न आउने सामान्यदेखि उच्चस्तरका अध्येतासम्मको रोजाइमा पर्छन् । उनी हुन्– नेपालको बुद्धस्थलका अध्येता, विज्ञ तथा वरिष्ठ पुरातत्वविद् वसन्त बिँडारी ।
सन् १८९६ डिसेम्बर १ मा डा. P. P. फ्युहरर र खड्गसमशेर जबराले ओझेलमा परेको लुम्बिनी र अशोक स्तम्भ पत्ता लगाएपछि लुम्बिनीलाई विश्वसामु चिनाउन उनको गतिलो योगदान रह्यो । जापान बौद्ध परिषद्, पुरातत्व विभाग र लुम्बिनी विकास कोषद्वारा सन् १९९२ देखि ९६ सम्म गरिएको मायादेवी मन्दिरको उत्खनन, संरक्षण र पुनःनिर्माणमा उनी पुरातत्वविद्का रूपमा सक्रिय भई काम गरेका थिए । त्यतिखेरै भगवान् गौतम बुद्ध जन्मेको ठाउँमा राखिएको विशेष चिन्ह मार्क स्टोनसमेत पत्ता लगाउन उनको योगदान रह्यो । उनी लुम्बिनीको जिउँदो इतिहास बनेका छन् ।
लुम्बिनीको विकास, संरक्षण र पर्यकटीय गन्तव्य बनाउन सरकारले सन् १९८५ मा लुम्बिनी विकास कोष स्थापना गरेसँगै उनी पुरातत्वविद्का रूपमा कोषमा सेवा प्रवेश गरेका थिए । लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि उनले खोज–अनुसन्धान र प्रमाण जुटाए । आफैँ पनि थप खोज–अनुसन्धानमा लागे । उनको धेरै मेहनतपछि सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरेको थियो ।
युनेस्को र डुह्राम विश्वविद्यालय बेलायतद्वारा लुम्बिनीमा २०११ देखि १३ सम्म गरिएको उत्खनन टोलीमा पनि उनी वरिष्ठ परामर्शदाता भई काम गरे । डुह्राम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङ्घम तथा नेपालका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यको नेतृत्वमा भएको उत्खनन तथ्यले अमेरिकास्थित इन्स्टिच्युट अफ आर्कलोजीले लुम्बिनीलाई सन् २०१४ को विश्वका उत्कृष्ट दश पुरातात्विक अन्वेषणस्थलको रूपमा घोषणा गरेको थियो । बुद्ध जन्मनुभन्दा अघि नै लुम्बिनीमा मानव बसोबास र गतिविधि देखिएकाले त्यतिबेला नै लुम्बिनी व्यवस्थित सहर रहेको तथ्य बाहिर आउनुले लुम्बिनीको महत्व अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको हो ।
६२ वर्षे उनी तीन दशक बढी लुम्बिनी, कपिलवस्तु र नवलपरासीका बुद्धस्थलको अध्ययन–अनुसन्धानमा बिताए । उनले अध्ययन, अनुसन्धान र खोजलाई पुस्तकाकार रूप पनि दिएका छन् । उनले लुम्बिनी र कपिलवस्तुका बुद्धसँग सम्बन्धित पुरातात्विक र ऐतिहासिक स्थलका बारेमा भएको खोज, अध्ययन र अनुसन्धानका बारेमा अङ्ग्रेजीमा चार पुस्तक लेखेका छन् । बुद्ध अस्तुधातु रहेको रामग्रामका बारे लेखेको पुस्तक एक वर्षभित्रै प्रकाशन हुने बताए । लुम्बिनीका बारेमा उनले लेखेका अनुसन्धानमूलक लेख भारत, श्रीलङ्का, थाइल्यान्ड, भियतनाम र म्यानमारका जर्नलमा समेत प्रकाशित भइसकेका छन् ।
लुम्बिनीबारे सर्वसाधारणले थाहा पाउनुपर्ने तथ्यलाई समेत उनले लेखेको ‘लुम्बिनीको मौन आह्वान’ नामक पुस्तक सात भाषामा प्रकाशित छ । पुस्तकमा बुद्ध जन्मनुअघि लुम्बिनी, बुद्धको जन्मेदेखि मृत्यु, लुम्बिनीमा बुद्ध जन्म र संक्षिप्त जीवनी रहेको छ । लुम्बिनीमा सम्राट् अशोक आगमन र निर्माण, चिनियाँ तीर्थयात्रीको तीर्थाटन, ईस्वीको चौधौँ शताब्दी र त्यसपछिको लुम्बिनीको अवस्था पनि उल्लेख छ । लुम्बिनीको खोजको सुरुआत, मायादेवी मन्दिर उत्खनन, संरक्षण र पुनर्निर्माण, प्राचीन स्मारक र लुुम्बिनीमा विकासको सुरुआत विषय संलग्न छन् । नेपाली, अङ्ग्रेजी, थाई र चाइनिज भाषामा प्रकाशित छन् । त्यस्तै, बर्मिज, जापानिज र सिंहला (श्रीलङ्काली) भाषामा पनि पुस्तक प्रकाशन भएका छन् । यी पुस्तक हजारौँ माइल परबाट आउने तर भाषाको ज्ञान अभावमा सामान्य जानकारी पनि नलिई फर्कने विदेशीलाई सुविस्ता पुगेको छ । नेवारी, हिन्दी र तिब्बती भाषाका पुस्तक पनि प्रेसमा गइसकेका छन् । उनका पुस्तक दोस्रोदेखि चौथो संस्करणसम्म प्रकाशित भइसकेका छन् ।
१३ वर्षअघि बर्माका तीर्थयात्रीलाई मायादेवी मन्दिर घुमाउँदा उनीहरूले आफ्नै भाषामा लुम्बिनी पढ्न पाउँदैनौँ भनेर प्रश्न गरे । बिँडारीेको मनमा भने त्यो कुरा किला जस्तै गड्यो । उनी त्यही बेलादेखि देश–विदेशमा लुम्बिनी चिनाउनु जरुरी छ भन्दै पुस्तकको तयारीमा लागे ।
सबै भाषाका पुस्तक लेखक बिँडारीले आफ्नै खर्चमा छापेका छन् । अङ्ग्रेजीमा आफैँ पुस्तक लेखेका उनले नेपालीलगायत अन्य ६ भाषामा विज्ञद्वारा अनुवाद गराएका हुन् । ‘नेपालको राम्रो पर्यटन प्रवद्र्धन होस्’, उनले भने– ‘लुम्बिनी जान्न चाहने त्यसै नफर्कून भनेर पुस्तक प्रकाशन गरेको हुँ ।’ ‘लुम्बिनी विश्व शान्तिको मुहान हो भन्ने सबैले थाहा पाऊन्’, उनले भने– ‘शान्तिको ऊर्जा लिन आउने विदेशी सूचनाविहीन बन्न नपरोस् भनेर पुस्तक ल्याएको हुँ ।’ सबै पुस्तक काठमाडौँमा छापिएको हो । विरलै पाइने पुराना श्वेतश्याम फोटो र स्केचले पुस्तकको प्रमाणिकता थपेको छ । डिजिटल प्रविधि भित्रिएपछिको रङ्गीन र एरियल फोटोले पुस्तक थप आकर्षित बनाएको छ । सय बढी तस्बिर पुस्तकमा छन् ।
‘आम्दानीभन्दा पनि लुम्बिनी प्रचार–प्रसारका लागि पुस्तक प्रकाशित गरेको हुँ’, बिँडारीले भने– ‘खर्च उठेको छ । थोर–धेर आम्दानी हेटौँडाको असाहय गृह र कपिलवस्तुको बाल गृहलाई बर्सेनि दान दिने गरेको छु ।’
उनी दुई वर्षयता श्रीलङ्का सरकारको परामर्शदाता भएर काम गरिरहेका छन् । उनले श्रीलङ्काको राजधानी कोलम्बोनजिक पिलियन्दलमा लुम्बिनी र कपिलवस्तु (तिलौराकोट)को रिप्लिका बनाउँदै छन् । त्यहाँ उनले पवित्र पुष्करणी पोखरी र राजप्रासाद बनाउँदै छन् । लुम्बिनी र तिलौराकोटको जस्तै अनुभूति हुने गरी काम थालेका छन् । करिब २० प्रतिशत काम पुरा भएको छ । श्रीलङ्कामा राम्रो काम गरेबापत गत मेमा बुद्ध जयन्तीका अवसरमा त्यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनालेबाट सम्मानसमेत पाएका छन् । ७८ एकड जग्गामा बनाउन लागिएको उक्त रिप्लिका निर्माणका लागि ५ सय मिलियन श्रीलङ्कन रूपैयाँ विनियोजन गरिएको छ ।
युनेस्को नेपालका वरिष्ठ परामर्शदातासमेत रहेका उनले सानादेखि ठूलालाई लुम्बिनी कपिलवस्तुका बुद्धस्थल भ्रमण गराएका छन् । नेपालका तीन राजा वीरेन्द्र, ज्ञानेन्द्र र दीपेन्द्रदेखि नेपालमा धेरै प्रधानमन्त्री मन्त्रीलाई गाइड गरेका छन् । भुटानकी महारानी दोर्जे वाङ्चुकदेखि संयुक्त राष्ट्र सङ्घका महासचिवद्वय वान कि मुन र हाभियर पेरेज द कोइयारलाई पनि गाइड गरेका छन् । थाई राजकुमारी चक्री सिरिन्द्रर्नलाई पनि लुम्बिनी अवलोकन गराउँदै घुमाएका छन् । त्यस्तै, सुपरस्टार हिरो आमीर खानलाई पनि लुम्बिनी अवलोकन भ्रमण गराएका छन् । राजा शुद्धोदनको राजप्रासाद तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उनैले प्रक्रिया थालेका थिए । सन् १९९६ मा युनेस्कोको प्रारम्भिक सूचीमा तिलौराकोट परेको थियो ।
भारतको कोलकातास्थित विश्व भारती विश्वविद्यालय शान्ति निकेतनबाट इतिहास, संस्कृति र पुरातत्वमा एमए गरेका उनले दिल्लीबाट भारतीय पुरातत्व सर्वेक्षणमा पोष्ट ग्रायजुएट गरेका छन् ।
सन् १८९५ मा डा. P. P. फ्युहररले तिलौराकोटमा उत्खनन गर्दा आसपासका क्षेत्रमा १२ ऐतिहासिक र पुरातात्विक स्थल पत्ता लगाएका थिए । त्यसपछि सन् १८९९ मा भारतीय पीसी मुखर्जीले तिलौराकोट उत्खनन गर्दा २० नया“ ऐतिहासिक र पुरातात्विक स्थल पत्ता लगाएका थिए । त्यसपछि सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मित्राले थप ३५ नया“ ऐतिहासिक र पुरातात्विक स्थल पत्ता लगाएकी थिइन् । त्यसपछि सन् १९७२ मा नेपाली पुरातत्वविद् बाबुकृष्ण रिजालले थप १४ नया“ ऐतिहासिक र पुरातात्विक स्थल पत्ता लगाएका थिए । त्यसपछि बिँडारीले इटालियन पुरातत्वको टोलीसँग सन् १९९६ देखि ९८ सम्म काम गर्दा थप ५५ नयाँ ऐतिहासिक र पुरातात्विक स्थल पत्ता लगाएका थिए । यसको संरक्षण हुन भने बाँकी छ ।
त्यस्तै, सन् १९८९ मा निगालीसागर पोखरीमा लडेर अलपत्र परेको निग्लिहवा अशोक स्तम्भको लामो भाग टिनको टहरोमा राखेर संरक्षण गरेका थिए । त्यस्तै, उनको योगदान कपिलवस्तुकै महत्वपूर्ण पुरातात्विक स्थल निग्रोधाराम खोजमा रह्यो । सन् २००५ मा उत्खनन अनुसन्धान गरेर उनले त्यहाँको वस्तुस्थिति र पुरातात्विक महत्व उजागर गर्दै बौद्ध इतिहासमा उल्लेख निग्रोधाराम रहेको पुष्टि गरे । यसअघि उक्त ठाउँलाई कुदान भनिन्थ्यो । ‘चिनियाँ तीर्थयात्रीको भनाइ र पुरातात्विक महत्वको स्थल कुदान निग्रोधाराम हो’, उनले भने– ‘यो घोषणा गर्न पाउँदा जीवनकै खुसीको क्षण बन्यो । बौद्ध इतिहासमा निग्रोधारामको निक्कै महत्व छ । त्यहाँ भगवान् गौतम बुद्ध ज्ञान प्राप्त गरी राजधानी पहिलो पटक आउँदा आफ्ना माता–पितासँग भेटघाट गरेको स्थल हो ।’ त्यस्तै, आफ्नी श्रीमती यशोधरा र छोरा राहुललाई भिक्षु सङ्घमा सामेल गरेका थिए । त्यस्तै, यहाँ बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने १५औँ वर्षाबास बुद्ध आफैँ बसेका थिए । त्यसपछि सन् २००६ देखि प्रत्येक वर्ष वर्षाबास बस्न थाइल्यान्डबाट २–४ जना यहाँ आउने गर्छन् ।
पहिलो वर्ष २००६ त थाइल्यान्डको राजपरिवारको एक सदस्य पनि यहाँ वर्षाबास बस्न आएका थिए । निग्रोधारामलाई थाईहरू निक्कै पवित्रस्थल मान्छन् । सन् १९९४ मा इटालियन टोलीसँग उनले बुद्धस्थल सिसहनियाको अन्वेषण र उत्खनन गरे । सन् १९९६ मा इटालियन टोलीसँगै गोटिहवा अशोक स्तम्भको उत्खनन गरेका थिए ।
उनी तिलौराकोटमा सन् १९९० यता भएका अधिकांश उत्खनन र संरक्षणमा संलग्न छन् । उनले सन् १९९४ मा तिलौराकोटमा रहेको पूर्वी र १९९७ मा पश्चिमी द्वार संरक्षण गरेका थिए । त्यस्तै, १९९५ मा बीचको राजप्रासाद संरक्षण गरेका थिए । सन् १९९५ देखि २०१२ सम्म भएको सुरक्षा किल्ला पर्खाल उत्खनन र संरक्षण उनकै नेतृत्वमा भएको थियो । अहिले तिलौराकोटमा एक हजार दुई सय मिटर बढी सुरक्षा किल्ला पर्खाल चारैतिर संरक्षण गरिएको छ । लुम्बिनी विकास कोषमा २८ वर्ष बढी काम गरेका उनी बुद्ध, लुम्बिनी, तिलौराकोट र रामग्रामका विषयमा निक्कै खारिएका छन् । त्यति मात्रै हैन, भारत र श्रीलङ्काका बौद्ध स्थलका बारेमा पनि उनलाई राम्रो ज्ञान छ । जस्तोसुकै अवस्था र परिस्थितिमा उनी बौद्धस्थलका बारेमा रहेको भ्रम चिर्न सक्छन् । तत्कालीन र वर्तमान अवस्थाको विश्लेषण गरेर निचोड निकाल्छन् । उनको विज्ञता सबैतिर प्रशंसा हुन्छ । उनको शालीनता र विज्ञताबाट प्रभावित भएर थाइल्यान्ड र श्रीलङ्काका बौद्ध विद्वान्हरू आफ्ना विश्वविद्यालयमा पढाउन बोलाउँछन् । उनी अतिथि प्राध्यापकका रूपमा २–४ महिना बिराएर पढाउन जान्छन् । ‘मेरो अङ्ग्रेजी लेक्चर सुन्नेहरू मन्त्रमुग्ध हुन्छन्’, उनले भने– ‘लगातार २–३ घन्टा बोल्दा पनि जिज्ञासा र धन्यवाद दिनेहरू प्रसस्त हुन्छन् ।’ उनीसँग विश्वमै अधिकांश बुद्धस्थलका अहिलेका मात्र हैन, सय–दुई वर्ष पुराना तस्बिरहरू पनि छन् । रङ्गीन र श्वेतश्याम तस्बिर सङ्कलन गर्ने र खिच्ने उनको राम्रो बानी छ । उनी फोटोग्राफर नभए पनि उनले महत्वपूर्ण तस्बिरहरू सङ्ग्रह गरेका छन् । बुद्धका बारेमा अध्ययन–अनुसन्धान गर्नेहरू उनीसँग तस्बिर खोज्दै पुग्छन् ।
बुढ्यौली उमेर भए पनि बुद्ध, लुम्बिनी र कपिलवस्तुका कुरा हुँदा उनमा युवा जोस जागेर आउँछ । तर्क गर्दै तथ्य आधार दिन्छन् । त्यसैले उनी यस क्षेत्रमा सदाबहार वसन्त कहलिएका छन् । लुम्बिनी विकास कोषबाट सेवा निवृत्त भए पनि लुम्बिनीमै बसेर अध्ययन–अनुसन्धानलाई अघि बढाएका छन् । लुम्बिनीलाई विश्वमा चिनाउन उनले सञ्चार क्षेत्रबाट पनि योगदान गरेका छन् । विश्वप्रसिद्ध नेसनल जियोग्राफी च्यानल, सिन्ह्वा र बीबीसी टेलिभिजनलाई अन्तर्वार्तासमेत दिएका छन् । त्यस्तै, कोरियन, श्रीलङ्का, थाई, म्यानमार, भियतनाम र कम्बोडियन टेलिभिजनलाई लुम्बिनी र कपिलवस्तुका बारेमा थुप्रै जानकारी दिएका छन् । भारत सरकारले पनि उनलाई पत्याएको छ । भारतको बुद्ध सर्किट रेलबाट यात्रा गर्ने विशिष्ट व्यक्तिका उनी गतिला पाहुना बन्छन् । रेल यात्रा गर्दै उनी बुद्धस्थलका बारेमा व्याख्या गर्दै हिँड्छन् । त्यस्तै, बुद्धसँग सम्बन्धित हुने अधिकांश अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी तथा समारोहका उनी अतिथि बनेर पुग्छन् । ‘त्यस्ता ठाउँमा गएर छलफल गर्न पाउँदा गर्व महसुस हुन्छ’, उनले भने– ‘विद्वान् र विज्ञलाई लुम्बिनीको तथ्य र अवस्थाबारे सुनाएर भ्रम हटाउँछु । खुसीले सन्तुष्ट हुन्छु ।’
सबै तस्बिर : मनोज पौडेल
प्रतिक्रिया