राष्ट्र बैंकले एक अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, बैंकहरूलाई प्रस्ताव पठाउन आह्वान
नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ। यसका लागि राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पठाउन सूचना जारी गरेको छ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।
जसअनुसार ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले यही साउन १४ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।
यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ । जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको,निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेलगायत छन् ।
प्रतिक्रिया