आइतबार, ११ साउन २०८२

प्राधिकरणको प्रष्टीकरण-लोडसेडिङको हल्ला भ्रामक,लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या भयो

समयपोष्ट २०८२ साउन ११ गते १६:२४

नेपाल विद्युत् प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको तालिका सम्बन्धी हल्ला भ्रामक भएको जनाएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा प्राधिकरणले चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसन र भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको हो। वर्षायाममा अपेक्षाअनुसार पानी नपरेकाले सिँचाइका लागि विद्युत्को माग बढेको र यसले लाइन तथा ट्रान्सफर्मरहरूमा अतिरिक्त भार परेको प्राधिकरणले जनाएको छ।

यो समस्याको दीर्घकालीन समाधानका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो निर्माण सम्पन्न भएपछि विद्युत् आपूर्तिको समस्या समाधान हुने प्राधिकरणको दाबी छ।

प्राधिकरणले भ्रामक सूचनाले उपभोक्ताहरूमा अन्योल सिर्जना भएको भन्दै लोडसेडिङ नेपालको इतिहास भएको र यो फर्किने अवस्था नरहेको उल्लेख गरेको छ। चनौली वितरण केन्द्रमा देखिएको समस्या समाधान गर्न प्राविधिक टोली अहोरात्र खटिएको र आगामी दुईदेखि तीन दिनभित्र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्ने प्राधिकरणले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री