शुक्रबार, १६ चैत २०८०

कनकाई नदी पिडित भन्छन् : “यही नदीले सुकुम्बासी बनायो, वर्षा शुरु भएसँगै त्रास छाउँछ”

समयपोष्ट २०७४ पुष ७ गते ८:२५

कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

Advertisement

वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासीे तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन् । शिवसतासी–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा रु पाँच करोडको लागतमा तटबन्धको काम भइरहेको इञ्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

“बढी जोखिमपूर्ण र प्रभावित स्थानको पहिचान गरी तटबन्धको काम भइरहेको छ”, उनले भने ।

शिवसताक्षी–४ का सिकिन पासवानले तटबन्धले स्थानीयवासीमा आशा जगाएको बताए । “धेरैजना कनकाई नदीको कटानले सुकुम्बासी हुनुभएको छ”, उनले भने, “वर्षा शुरु भएसँगै त्रास छाउँछ ।”

अर्का स्थानीय विरेन राजवंशी तटबन्ध शुरु भएपछि बाढीको जोखिम कम हुनेमा विश्वस्त रहेको बताए   । “हरेक वर्ष दुःखका साथ बर्खायाम बिताउने गरेका छौँ”, उनले भने , “तटबन्ध निर्माण शुरु भएसँगै स्थानीयवासीमा आश जागेको छ ।”

शिवसताक्षी नगरपालिकास्थित लालपानीका मानबहादुर थापाले कनकाई नदीको कटानकै कारण आफू सुकुम्बासी भएको बताउँदै तटबन्ध विश्वासिलो र भरपर्दो हुनुपर्नेमा जोड दिए । उनले नदीको दुवै किनारमा तटबन्ध गरिएमात्र प्रभावकारी हुने सुझाउ पनि दिए ।

“नदीको दुवैतिर नियन्त्रणको काम हुनुपर्छ”, उनले भने, “नत्र एकातिरको समस्या अर्कोतिर सर्छ ।” कनकाई नदीकै कारण सयौँ परिवार विस्थापित भएको पनि उनले सुनाए ।

कनकाईले वर्षेनी कैयौँ बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौँ घर डुबान र बाढीले बगाउँदा मानवीय क्षतिसमेत हुने गरेको छ । जनताको तटबन्धले यो वर्ष बाँचिएला भन्ने आशा जागेको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री