शुक्रबार, १६ चैत २०८०

राष्ट्रवादी ओलीको भारतीय प्रधानमन्त्री मोदीसंग यस्तो सम्बन्ध

समयपोष्ट २०७४ पुष ६ गते १५:२३

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा आज बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका छन् ।

Advertisement

अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका  हुन् ।

भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गरेको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गरेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उनलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेकोबताएका थिए ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताए । “यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ ”, नेता ओलीले भने ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिए ।

सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताए । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिएका थिए ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री