शनिबार, ८ वैशाख २०८१

पर्यटकलाई लोभ्याउँदै बेलढुंगा, जहाँबाट पाँच वटा जिल्ला देखिन्छन्

समयपोष्ट २०७४ पुष ३ गते ४:५२

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

Advertisement

प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् ।

पछिल्लो एक हप्तामा बागलुङ र पर्वतबाट मोटरसाइकलमा युवाको समूह भकिम्लीको स्वर्गाश्रम हुँदै बेलढुंगामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोजबहादुर जिसीले बताए ।

“चहलपहल शुरु भएको छ, पदमार्ग बनाउन सम्बन्धित निकायबाट बजेटको आवश्यकता छ”– जिसीले भने। अवलोकन गरेर फर्किएका राजेश घर्तीले आकर्षक पर्यटकीय गन्तव्य भएकाले पदमार्ग र होमस्टेको व्यवस्थापन हुनुपर्ने बताए । “पाँच वटा जिल्ला देखिन्छन् । बेलजस्तै ढुंगामाथिबाट देखिने दृष्यले सबैलाई लोभ्याउँछ”– उनले भने ।

बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा छ । पूर्वाधारको अभावले पनि पैदलमार्गबाट अग्लो पहाडमा रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश भू–भागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भू–भागसहित धौलागिरिसहितका हिमशृङ्खलाको अवलोकन गर्ने गरिएको छ ।

धार्मिकस्थल स्वर्गाश्रमबाट करिब ४५ मिनेटको दूरीमा छ बेलढुंगा । आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरिलगायतका एक दर्जन हिमश्रङ्खला, लालीगुराँसको घना जंगल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्य देखिन्छन् । जंगलका बीचमा रहेको अग्लो ढुंगासम्म पुगेपछि त्यहाँ करिब ३० जनासम्म बस्न मिल्छ । सबै एकैपटक ढुंगामा बस्दा हल्लिएको महसुस हुने भकिम्लीका डेकबहादुर घर्तीमगरले बताए ।

प्राचीनकालमा तपस्या गर्न गएका सप्तऋषिले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्तऋषि बेलढुंगासमेत भन्ने गरिन्छ । स्वर्गाश्रमदेखि बेलढुंगासम्म २०० वर्ष अगाडिसम्म तपस्या गर्ने स्थान अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जंगलभित्रको यात्रा गरेपछि अग्लो ढुंगामा पुगेर अवलोकन गर्न मिल्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री