शुक्रबार, १६ चैत २०८०

प्रदेश नं ७ की एक्ली महिला सांसद् बिना,विजयी भएपछि यस्तो आयो उनको प्रतिक्रिया

समयपोष्ट २०७४ मंसिर २७ गते ७:२९

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।

Advertisement

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित भए पनि बिना भने भारी मतान्तरका साथ विजयी भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् प्रकाश दाहाललाई गुमाएकी थिइन् ।

संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन् । मगरले जित हासिल गर्दा ३८ हजार ४६८ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टले मात्रै १९ हजार २१९ मत ल्याए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने प्रतिवद्धता जनाएकी छन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क ) स्थापना गर्ने घोषणा गरेकी छन् ।

‘निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौं’, उनले भनिन्, ‘यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।’

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् ।

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले बताएकी छन् ।

०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, भेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी थिइन् ।

पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी थिइन् ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले ०५२ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी) को सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।

जनयुद्धको शुरुवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन शुरु गरिन् । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं ०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई ०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

राज्यको व्यापक धरपकड र दमनबीच मगर ०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेकी थिइन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनलाई २७ महिना बेपत्ता पारिएको थियो ।

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोगेकी थिइन् ।

०६२÷६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि अदालतले गैरन्यायिक हिरासतबाट मगरलाई रिहा गर्न आदेश दिएको थियो ।
सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाले विरोध गरेपछि उनी रिहा भएकी थिइन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् ।

प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छन् ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री