बिहीबार, १३ वैशाख २०८१

उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान

समयपोष्ट २०७४ मंसिर २१ गते १२:१३


रमेश लम्साल/ हरि लामिछाने 

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । 

राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उहाँहरुको भनाइ छ । 

प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग सकिएको भन्दै आफ्ना घोषणापत्रमार्फत औद्योगिक वातावरण बन्ने, लगानीका अवसरमा वृद्धि हुने, बेरोजगारीको अन्त्य हुने र लगानीकर्तामा समेत विश्वास र आशा पैदा हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् । 

दलहरुले घोषणापत्रमा समेत महत्वकाक्षी आर्थिक समृद्धिको कार्यक्रम समावेश मात्रै गरेका छैनन्, आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय रु पाँच लाख पु¥याउने घोषणा गरेका छन् । 

उद्योगी व्यवसायीले दलका घोषणापत्रको स्वागत गर्दै मुलुक निर्वाचनको माध्यमबाट राजनीतिक स्थिरता प्राप्त गर्ने चरणमा प्रवेश गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले आफूले समृद्धिको पक्षमा मतदान गरेको प्रतिक्रिया दिनुभयो । मुरारकाले काठमाडौँको थापाथलीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “राजनीतिक एजेण्डा सकिएको छ, अबको मुख्य कार्यसूची आर्थिक समृद्धि हो, मलाई विश्वास छ राजनीतिक दल आर्थिक समृद्धिको यात्रामा लामवद्ध हुनेछन्, मैले आर्थिक समृद्धिका लागि मतदान गरे ।” 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले काठमाडौँ क्षेत्र नं– ५ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँले देश औद्योगिकरुपमा समृद्ध हुनुपर्ने बताउँदै आफूले समृद्धशाली मुलुकका असल नागरिक हुने रहर पूरा हुने अपेक्षासहित मतदान गरको टिप्पणी गर्नुभयो । 

गत वर्षदेखि मुलुकमा विद्युत्भार कटौतीको अन्त्य भएको छ । त्यसले औद्योगिक वातावरण तयार पारेको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६।९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्यो । चालु आवमा ७।२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ । देशभर नै उद्योगी व्यवसायीमा थप उत्साह थपिएको छ । 

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक संघर्षको अध्याय सकिने र मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने कम्प्युटर एसोसियसन महासंघ नेपालका अध्यक्ष विनोद ढकाल बताउनुुहुन्छ । 

उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताका लागि आज मैले मतदान गरे, देशले आर्थिक निकास पाओस् । मुलुक समृद्ध बनोस् ।” उहाँले कालीमाटीस्थित जनप्रभात मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान का अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नो मताधिकार जनजागृति मावि गोल्फुटारबाट प्रयोग गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेकाले यस पटक उक्त सपना पूरा हुने धारणा राख्नुभयो । 

अध्यक्ष गुरागाईले भन्नुभयो “राजनीतिक लडाइँ र झगडाबाट मुलुकले मुक्ति पाउँदैछ । आर्थिक समृद्धिको यात्रा सुरु हुन लागेको छ । उद्योग धन्दाको विकास हुनेछ । बेरोजगारीको अन्त्य हुने छ । ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ भन्ने मैले विश्वास लिएको छु ।” 

उहाँले आगामी बन्ने सरकारले नेपालको जलविद्युत्को क्षेत्रमा उल्लेख्य योगदान गर्ने र नेपालको ऊर्जा सुरक्षामा समेत विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 

निर्वाचनलाई भयरहित, मर्यादित र शान्तिपूर्ण बनाउन उद्योग वाणिज्य महासंघले अनुगमन समूह नै बनाएको छ । । यस्तै उद्योगी तथा व्यवसायीले पनि निर्वाचनको पर्यवेक्षण समेत गरेका छन् । आर्थिक वृद्धि र समृद्धिका लागि उनीहरुले आफूले मतदान गरेको समेत प्रतिक्रिया दिएका छन् । चीन र भारत जस्ता आर्थिक विकासको शिखरमा पुगेका मुलुकको बीचमा रहनुले पनि आगामी दिन नेपालका लागि थप सुखद् रहने उद्योगी तथा व्यवसायीको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री