बिहीबार, ३० असोज २०८२

जसपा नेपालका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समयपोष्ट २०८२ असोज ३० गते १३:१५

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सिंहले आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिको खातामा जम्मा भएको रकम झिकाएर आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग छ।

विशेष अदालतमा दायर मुद्दामा सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मधेस प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट महोत्तरी जिल्ला क्षेत्र नं. ४(ख) को रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालित विकास योजनाहरूका लागि गठित उपभोक्ता समितिहरूबाट सिंहले कमिसन लिएको अनुसन्धानमा खुलेको छ। यी समितिहरूमा देवी माहारानी सौन्दर्यकरण, रधवा पिपलदेखि सहसौलासम्मको सडक स्तरोन्नति, कमलामाई मन्दिर निर्माण, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण, माइस्थान मन्दिर सौन्दर्यकरण, धर्मशाला निर्माण र अन्य सडक निर्माण कार्यहरू समावेश छन्।

Advertisement

लक्ष्मी सनराइज बैंकमा रहेको उपभोक्ता समितिहरूको खातामा जम्मा भएको १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये सिंहले आफ्नो र श्रीमतीको संयुक्त खातामा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ (औसत २८.२५%) कमिसनका रूपमा लिएको अख्तियारको अनुसन्धानले देखाएको छ।

यस्तै, धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० रुपैयाँ, अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवीसँग २ लाख १४ हजार ३५० रुपैयाँ, माइस्थान मन्दिर सौन्दर्यकरण समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेसँग १ लाख ५० हजार रुपैयाँ, रधवा पिपलदेखि लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९०० रुपैयाँ र कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री