बिहीबार, १३ वैशाख २०८१

मतपेटिकालाई जहाँ मुसाको खतरा छ…

समयपोष्ट २०७४ मंसिर १९ गते ३:२६

सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ ।

Advertisement

रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा प्रहरीले पहरासमेत दिइरहेका छन् । मंसिर १३ मा जिल्लाका एक सय ६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् ।

मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ । अन्नपुर्णबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री