सैनिक अस्पतालमा मिर्गौलारोगीलाई निःशुल्क हेमोडाइलाइसिस सेवा

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विभिन्न रोगको उपचार र नियमित स्वास्थ्य परीक्षणका लागि महानगरले सेनासँग सहकार्य गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरको तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा बुधबार हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौताबमोजिम पहिलो चरणमा महानगरभित्र भएका सेरा नेगेटिभका बिरामीलाई वीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाइलाइसिस सेवा निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, महानगरवासी र काठमाडौं महानगरपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच अभिवृद्धि गर्ने उल्लेख छ । नागरिक–सेना सम्बन्ध विस्तार गर्ने गरी वीरेन्द्र सैनिक अस्पतालमार्फत विभिन्न रोगको उपचारमा पनि आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण गरिनेछ । ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा, आपत्कालीन स्वास्थ्य सेवा, मिर्गौला रोगीका लागि हेमोडाइलाइसिस सेवा सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने सम्झौतापत्रमा उल्लेख छ ।

यस्तो छ, सम्झौता
‘हेमोडाइलाइसिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक भएमा त्यसको योजनासहित खाका र सोका लागि लाग्ने रकम दोस्रो पक्ष (नेपाली सेना) बाट माग भई आएपछि कार्यक्रम अनुदानमा प्रथम पक्ष (महानगरपालिका) ले दोस्रो पक्षको खातामा उपलब्ध गराइदिनुपर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ । प्रथम पक्षको बजेटमा विनियोजित तीन करोडको ५० प्रतिशतले हुन आउने रकम एक करोड ५० लाख सुरुमा र अन्तिम किस्ता खरिद प्रक्रिया सम्पन्न भएपछि खरिद सम्झौताअनुरूप बाँकी रकम प्रथम पक्षको अनुदानबाट बनेको संरचनामा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित भनी उल्लेख गर्नुपर्नेछ ।

तत्कालका लागि नेपाली सेनाअन्तर्गतको वीरेन्द्र अस्पताल छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौ देखि १२ जनासम्म बिरामीका लागि हेमोडाइलाइसिस सेवा सुुरुवात हुनेछ । सम्झौता अवधि सम्झौता भएको मितिले पाँच वर्षको हुनेछ । दुवै पक्षको आपसी समझदारीमा सम्झौताको म्याद थप हुन सक्ने उल्लेख छ ।

महानगरसँगको सम्झौताले हामी उत्साही छौँ : सेनापति थापा
नेपाली सेनाका प्रमुख थापाले महानगरसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘हामीले यसअघि पनि महानगरपालिकासँग केही सहकार्य गरेका छौँ,’ थापाले भने, ‘विगतदेखि नै नागरिक–सैनिक सम्बन्धलाई थप उचो बनाउने गरी सेना अघि बढिरहेको छ । महानगरपालिकाको हरियाली प्रवद्र्धन गर्ने, धुलो नियन्त्रण गर्ने, वातावरण स्वच्छ राख्ने योजनामा नेपाली सेनाको पनि सहयोग निरन्तर रहनेछ ।’

Advertisement

नागरिकलाई सेवा दिन तत्पर छौँ : मेयर शाक्य
मेयर विद्यासुन्दर शाक्यले नागरिकलाई सेवा प्रवाह गर्न महानगर प्रयासरत रहेको बताए । उनका अनुसार काठमाडौं महानगरपालिका सकेसम्म आफैँ अस्पताल सञ्चालन गर्ने योजनामा थियो । तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गर्दै आएका छौँ । उनले भने, ‘केही पहिला मात्रै हामीले कान्ति बाल अस्पताललाई अक्सिजन प्लान्ट राख्ने सन्दर्भमा सम्झौता गरेका थियौँ । त्यो खरिद प्रक्रियाका लागि अघि बढिसकेको छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री