
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा भएको दुई जना कैदी हत्या प्रकरणमा अदालतले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ बमोजिम सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।
अदालतले प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए। विसं २०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरी र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।
कैदी हत्या घटनामा संलग्न प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईलाई जन्मकैदको फैसला भएको छ। सुरुवाती अनुसन्धानपछि उनीहरूलाई जिल्ला अदालतको आदेशमा धनकुटा कारागार चलान गरिएको थियो।
त्यसैगरी कैदीबन्दीहरू तर्फबाट चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको छ। उनीहरूलाई अनुसन्धानका क्रममा तेह्रथुम कारागार पठाइएको थियो।
सामूहिक कुटपिटबाट दुई कैदीको मृत्यु भएपछि कारागारका इन्चार्ज असईसहितका सुरक्षाकर्मी र कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। अदालतको यो फैसलासँगै कारागारभित्रै भएको जघन्य अपराधमा सुरक्षा निकाय र कैदी संयन्त्रका मुख्य आरोपीहरू कानुनी कठघरामा परेका छन्।










प्रतिक्रिया