नेपाल–भारत साझेदारी: मुस्ताङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत नयाँ भवन हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङस्थित लोमन्थाङ गाउँपालिका–१ मा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको उद्घाटन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार, असार १ गते सो दुई तले छात्रावासको संयुक्त रूपमा उद्घाटन गरे।

४ वटा ब्लक र सम्बद्ध संरचनासहितको यो नयाँ भवन निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। यस परियोजनाको कार्यान्वयन लोमन्थाङ गाउँपालिका मार्फत गरिएको हो।

Advertisement

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बौद्ध शिक्षाका अतिरिक्त यस विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणाली अनुरूपको गुणस्तरीय पाठ्यक्रम समेत प्रदान गर्दै आएको छ।

नयाँ पूर्वाधारले गुम्बा विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा सुधार ल्याउन मद्दत पुग्ने भन्दै गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापनले भारतीय सहयोगको प्रशंसा गरे। उद्घाटनका क्रममा राजदूत श्रीवास्तवले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहोर्‍याए।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजना अघि बढाइसकेको छ। यीमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा ६३ वटा परियोजना रहेका छन्।

विगतका वर्षहरूमा भारतले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहयोग गरेको छ। समग्र गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई भारतले हालसम्म १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।

Advertisement

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। यस्ता परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री