शनिबार, १५ वैशाख २०८१

बैंक ह्याक गर्ने गिरोह पक्राउ: १ जनाको ६ वटासम्म खाता, १७ वटा बैंकमार्फत साढे १४ करोड कारोबार गरेको खुलासा

समयपोष्ट २०७६ मंसिर २५ गते १५:३२

Advertisement

प्रहरीले राजधानीबाहिरका विभिन्न स्थानबाट नेपाली बैंक तथा वित्तीय संस्थाहरु ह्याक गरेर रकम चोर्ने गिरोहका तीन जना सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलको आयोजना गरी नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएको जानकारी दिएको छ ।

शाखाका अनुसार सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।

ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेका थिए ।

४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

एजेन्टहरुले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंकहरु समेत ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी सुशील सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री