नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति

भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालले जानाजानी सीमा विवादलाई उचालेको आरोप लगाएका छन्। शनिवार राष्ट्रिय एकता अभियानले आयोजना गरेको ‘हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लिपुलेकलगायतका क्षेत्रलाई नेपाली नक्सामा समेटिएको प्रति असन्तुष्टि व्यक्त गरे।

Advertisement

उनले भने, “मैले विश्वका ९४ देशको भ्रमण गरेको छु, तर कुनै देशको नोटमा छिमेकी देशसँगको सीमा विवादको फोटो राखिएको देखेको छैन। चीन र भारतबीच पनि सीमाको विवाद छ, तर त्यस्ता ठाउँलाई नोटमा छापिएको छैन। नेपालले भने विवादित क्षेत्रलाई नोटमा छाप्दा मलाई दुःख लागेको छ।”

जोलीले सीमा विवादलाई संवादमार्फत समाधान गर्न सकिने बताए। तर यसका लागि प्रयत्न हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “एउटा परिवारमा पनि मतभेद हुन्छ, तर संवादमार्फत समाधान गर्न सुझबुझ चाहिन्छ।”

नेपालको नेतृत्वले नाकाबन्दीका बेला भारतविरुद्ध संयुक्त राष्ट्र संघमा उजुरी गरेको विषयमा पनि उनले गुनासो गरे। “भारतले नगरेका कामको गुनासो युएनसम्म पुर्‍याउनुको कुनै अर्थ थिएन,” उनले थपे।

नेपाल–भारतको सम्बन्धलाई ‘बेटी रोटी’को सम्बन्धभन्दा पनि गहिरो बताउँदै जोलीले विश्वमै यस्तो अद्भुत सम्बन्ध अन्यत्र कहीँ नभएको बताए। “नेपाल र भारतका मानिस जुनसुकै देशमा बसे पनि उनीहरूको सम्बन्ध सुमधुर देखिन्छ,” उनले प्रशंसा गरे।

Advertisement

धार्मिक र सांस्कृतिक एकताको बलियो आधार राख्न नेपाल–भारत सम्बन्ध अझ सशक्त बनाउनुपर्नेमा उनले जोड दिए। नेपालमा भइरहेको धर्म परिवर्तनका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै जोलीले भने, “नेपाल धर्मनिरपेक्ष होस् या हिन्दू राज्य, यो निर्णय गर्ने अधिकार नेपाली जनताको हो। तर, धर्म परिवर्तनको गतिविधि रोक्नुपर्छ। यसले सामाजिक संरचनामा गम्भीर असर पुर्‍याउँछ।”

नेपालमा केही दिनदेखि रहेका जोलीले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्दै दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन संवाद गरिरहेको बताए।

जोलीले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन सुझबुझपूर्ण कदम चाल्नुपर्ने र विवादलाई संवादमार्फत समाधान गर्न सकिने बताए। नेपाल–भारत सम्बन्ध सांस्कृतिक, सामाजिक र ऐतिहासिक रूपमा बलियो रहेको र यसलाई थप उचाइमा पुर्‍याउन आपसी समझदारीको खाँचो रहेको उनले औंल्याए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री