नेपाल-बंगलादेश ऊर्जा व्यापारलाई भारतले गर्यो स्वागत, क्षेत्रीय ऊर्जा कनेक्टिभिटीलाई बलियो बनाउने विश्वास
नेपालले पहिलोपटक बंगलादेशलाई विद्युत् निर्यात सुरु गरेको छ। आज भर्चुअल समारोहमार्फत ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो। जुन भारतीय ग्रिडमार्फत सम्भव भएको हो।
भारतका ऊर्जा तथा आवास तथा शहरी मामिलाका केन्द्रीय मन्त्री मनोहर लाल, नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का, र बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फौजुल कबीर खानले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
भारतले नेपाल र बंगलादेशबीच सुरु भएको ऊर्जा व्यापारको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘यो परियोजना ३१ मे २०२३ मा नेपालका पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा तय गरिएको सहमतिको महत्वपूर्ण नतिजा हो। सो अवसरमा भारतले नेपालबाट बंगलादेशतर्फ ४० मेगावाटसम्म विद्युत् निर्यातको सहजीकरण गर्ने निर्णय लिएको थियो।’
यस सहकार्यलाई संस्थागत गर्न ३ अक्टोबर २०२४ मा काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण (एनईए), बंगलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी), र एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गरिएको थियो।
विद्युत् व्यापारको सुरुवातले तीन देशबीचको ऊर्जा सम्बन्धलाई सुदृढ मात्र होइन, यसले क्षेत्रीय आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। विज्ञप्तिमा भनिएको छ -‘यो परियोजनाले क्षेत्रीय ऊर्जा बजारको विकास गर्दै साझेदारी र सहयोगलाई प्रोत्साहन गर्नेछ।’
यो त्रिपक्षीय पहलले तीन देशका जनताको पारस्परिक लाभ र दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया