बुधबार, २९ असोज २०८२

मधेसमा नयाँ सरकार गठनका लागि पाँच दलले गरे गठबन्धन, कांग्रेस–एमाले बाहिर

समयपोष्ट २०८२ असोज २९ गते १०:२६

Advertisement

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि पाँच राजनीतिक दलहरूले गठबन्धन गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा मधेस प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएको छ। यो गठबन्धनमा जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ।

यो नयाँ गठबन्धनसँगै मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले सत्ताबाहिर रहने पक्का भएको छ।

पाँच दलका ५६ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित जितेन्द्र सोनलले बुधबार मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्।

Advertisement

प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज अपराह्न ४ बजेसम्म रहेको छ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको सहकार्यमा सरकार गठन हुने चर्चा चलेको थियो।

ती तीन दलले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाइसकेका थिए। तर, जनमत पार्टीले कांग्रेस–एमालेको साथ छाडेर नयाँ गठबन्धनमा सामेल भएपछि नयाँ समीकरण बनेको हो।

मधेस प्रदेशमा सरकार गठनका लागि आवश्यक ५४ सांसदको बहुमत यो गठबन्धनले सहजै प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री