बुधबार, १२ वैशाख २०८१

दुई चार दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : उपप्रधानमन्त्री निधि  

समयपोष्ट २०७३ कार्तिक २३ गते १३:३२


उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले दुई चार दिनभित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुने दाबी गरेका छन् । 
मंगलबार फण्ड किङ्स नेपाल एजुकेशन ईन्टरनेश्नल फाउण्डेशन हवाई, संयुक्त राज्य अमेरिकाको सहयोगार्थ निर्माण गरिएको धादिँङ्को ढोलामा गत वर्ष २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त मण्डली आधारभुत विद्यालयको उद्धघाट्न गर्दै उपप्रधानमन्त्री निधिले संविधान संशोधनको सम्पूर्ण तयारी भैसकेकोले दुई चार दिनभित्रै उक्त संशोधन प्रस्ताव संसदमा दर्ता हुने बताएका हुन् । 

Advertisement

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री निधिले मधेशी मोर्चा लगायत असन्तुष्टहरुको मागलाई सम्बोधनको लागि सरकार गम्भिर भएकोले नै संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरेको स्पष्ट पारे । उनले अघि थपे,‘अब संविधान संशोधन प्रक्रिया अघि बढ्छ, यसमा कसैले शंका नगरे हुन्छ ।’
विद्यालय व्यवस्थापक सञ्चालक समितिका सभापति विष्णु गुरुङ्को सभापतित्वमा आयोजित कार्यक्रममा उनले नागरिकतासम्बन्धीको विवाद पनि सहमतिमै सुल्झिने विश्वास व्यक्त गरे । मन्त्री निधिले अन्तरिम संविधानमा अंगीकृत नागरिकका बारेमा जे व्यवस्था गरिएको छ अहिले पनि त्यही बमोजिम संविधान संशोधन हुने बताए । 

मन्त्री निधिले संविधान संशोधनमा एमालेले सहयोग गर्दैन कि भनेर बाहिर चर्चा भएपनि संविधान संशोधनका विषयमा एमालेले पनि सहयोग गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । उनले थपे,‘हुन त बाहिर एमालेले संशोधनमा सयहयोग गर्दैन भन्ने कुरा आएको छ, तर एमालेले सहयोग गर्छ, हामीले एमालेका शीर्ष नेताहरुसँगपनि कुरा गरेका छौं ।’ 

निधिले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव हुने समेत ठोकुवा गरे । उनले संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको चुनाव आजको अनिवार्य आवश्यकत्ता भएकोले त्यसको लागि सरकार गम्भिर भएर लागिपरेको बताए । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री